मधेशमा खस्कियो माओवादी

मधेशमा खस्कियो माओवादी

४ जेठ, काठमाडौं । अघिल्लो चुनावमा मधेस आन्दोलनको रापताप कायमै रहँदा नेकपा माओवादी केन्द्रले एक्लै महोत्तरीको बर्दिवास र गौशाला दुबै नगरपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो । यो पटक दुबै गुम्ने अवस्था छ ।

बर्दिवासको मेयरमा माओवादी उम्मेदवार राजु खड्का, नेपाली कांग्रेसका बागी उम्मेदवार प्रल्हादकुमार क्षेत्रीभन्दा झण्डै ५ हजार मतले पछाडि परिसकेका छन् । गौशालामा पनि विष्णुबहादुर योन्जन जनता समाजवादी पार्टी (जसपा)का दिपेन्द्र महतोभन्दा झण्डै आधा मतले पछाडि परिसकेका छन्

दुबै नगरपालिका आएका माओवादी केन्द्रका नेता गिरिराजमिण पोखरेलको क्षेत्रमा पर्छ, जो लगातार संसदीय चुनाव जित्दै आएका छन् । तर यो पटक दुबै नगरपालिकामा हार पक्का जस्तै भएको माओवादी केन्द्रका नेताहरु स्वीकार गर्छन् ।

बर्दिबास र गौशाला मात्र होइन, मधेश प्रदेशमा नै माओवादी निकै कमजोर देखिएको छ । २०७४ सालको चुनावमा माओवादी केन्द्रले मधेश प्रदेशमा १३ नगर र ८ गाउँ गरी २१ पालिकाको नेतृत्वमा जितेको थियो । त्यस्तै २४ उपप्रमुख/उपाध्यक्ष जितेको थियो । त्यस्तै ३३१ वडाध्यक्ष जितेका थियो ।

यो पटक त्यो अवस्था छैन । यो समाचार तयार पर्दासम्म माओवादी केन्द्रले प्रदेशभर जम्मा ४ पालिकाको नेतृत्व जितेको छ भने  चार वटामा अग्रता लिएको छ ।

जब्बर गुट

गत चैतमा स्थानीय तह निर्वाचनको तयारीका क्रममा माओवादी केन्द्रले मधेस प्रदेशको प्रशिक्षण धनुषाको तिरहुतिया बरगाछीमा राखेको थियो । त्यहाँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरु उपस्थित प्रशिक्षण कार्यक्रममा नेता मातृका यादव भने गएनन् ।

आफ्नै गृह जिल्लामा आयोजना भएको प्रदेशस्तरीय प्रशिक्षणमा यादवको अनुपस्थितिले मधेस प्रदेशमा चलिरहेको माओवादी भित्रको गुटगत लडाईंलाई पुनः सतहमा ल्याइदिएको थियो । माओवादीमा नारायणकाजी श्रेष्ठ र मात्रिका यादवको समूहले एकअर्काको अस्थित्व नै स्वीकार गर्दैनन् । जसको ज्वलन्त उदारण थियो श्रेष्ठ सहभागी भएको कार्यक्रमा यादव नजानु ।

दुई गुटको लडाईंकै कारण प्रचण्डले नेता गणेश साहलाई मधेश प्रदेश इन्चार्ज बनाएका छन् । साह स्वयं मधेश प्रदेश माओवादीका गुटहरुबीचको झगडाको केन्द्रविन्दु रहेको स्वीकार गर्छन् ।

‘हाम्रो आन्तरिक झगडाको केन्द्र विन्दु नै मधेश प्रदेश हो,’ उनी भन्छन्, ‘पार्टीभित्र विभिन्न समूह छन् । त्यसको असर पनि चुनावमा देखिएको छ ।’ कांग्रेसले पैसा र प्रहरी प्रशासनको धेरै प्रयोग गरेकाले पनि माओवादी मधेशमा कमजोर भएको

फुटको पनि असर

प्रभु साह लगायतका मधेशमा प्रभाव पार्न सक्ने केही नेता नेकपा एमालेमा गएको असर पनि यसपटक मधेशमा देखिएको छ । त्यसको स्पष्ट असर रौतहटमा देखिन्छ । रौतट प्रभु साहको गृह जिल्ला समेत हो ।

२०७४ को चुनावमा रौतहटमा माओवादी केन्द्रले चार पालिमा जितेको थियो । त्यस्तै दुईमा उपप्रमुख पनि जितेको थियो । तर, यसपटक दुर्गाभगवती गाउँपालिकामा मात्रै जितेको छ । अरु कुनै पनि क्षेत्रमा क्षेत्रमा माओवादीको अग्रता छैन ।

प्रभु साहको गृहनगर मौलापुर नगरपालिकामा यसपाली माओवादी केन्द्र दोस्रो छ, जहाँ अघिल्लो पटक माओवादीबाट जितेर एमाले गएकी साहकी पत्नी रिना साह पुनः निर्वाचित भएकी छन् ।

अघिल्लो पटक एमुनामाइ गाउँपालिका, मौलापुर नगरपालिका, माधवनारायण नगरपालिका फतुवा विजयपुर नगरपालिका, कटहरिया नगरपालिका र देवाही–गोनाही नगरपालिकामा माओवादी कतै दोस्रो र कतै तेस्रो अबस्थामा छ । धनुषा लगायतका जिल्लामा पनि फुटको असर देखिएको माओवादी नेताहरु स्वीकार गर्छन् ।

जिल्ला गत अवस्था

धुनषा

यहाँको सबैला नगरपालिकामा मात्रै माओवादीले अग्रता लिइरहेको छ। अघिल्लो पटक माओवादी केन्द्रले शहीदनगर, बिदेह नगरपालिका र सबैला नगरपालिकामा जितेको थियो । ती सबैमा माओवादी कतै दोस्रो र कतै तेस्रो अवस्थामा छ ।

सप्तरी

यहाँको खडक नगरपालिकामा मात्रै माओवादीले अग्रता लिइरहेको छ। यहाँ भने अघिल्लो पटक माओवादीले कुनै कुनै पनि पालिका जितेको थिएन ।

सिरहा

यहाँको मिर्चैया नगरपालिकामा मात्रै माओवादीले अग्रता लिइरहेको छ । अघिल्लो पटक माओवादीले जिल्लाका गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका, धनगढी नगरपालिका, अर्नमा गाउँपालिका र औरही गाउँपालिकामा जितेको थियो । यी सबैतिर माओवादी दोस्रो र तेस्रो अवस्थामा छ ।

महोत्तरी

यहाँको कुनै पनि पालिकामा माओवादीले अग्रता लिन सकेको छैन । अघिल्लो पटक माओवादीले यहाँका बर्दिबास नगरपालिका, रामगोपालपुर नगरपालिका, साम्सी गाउँपालिका र गौशला नगरपालिका जितेको थियो । यहाँ पनि माओवादी तेस्रो र कतै चौथोमा छ ।

सर्लाही

अघिल्लो पटक दुई पालिका मात्रै जितेको माओवादीले यहाँ भने राम्रो गरेको देखिन्छ । २०७४ मा माओवादीले यहाँ बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकामा मात्रै जितेको थियो ।

यसपटक माओवादीले बरहथवा नगरपालिकामा अग्रता लिइरहेको छ भने बलरा नगरपालिका, रामनगर गाउँपालिका र बागमती नगरपाकिलामा भने निर्वाचित भइसकेको छ ।

बारा

जितपुर सिमरामा उपमहानगरमा माओवादीले अग्रता लिइरहेको छ । यहाँ केन्द्रबाट गरिएको गठबन्धन अनुसार माओवादीले पाएको थियो । अन्यत्र कुनै पनि पालिकामा माओवादीको अग्रता छैन ।

अघिल्लो पटक माओवादीले पर्सामा ठोरी गाउँपालिका, छिपहरमाई गाउँपालिका र जगरनाथपुर गाउँपालिकामा जितेको थियो ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *