गण्डकी प्रदेशका कानुनमन्त्रीले गरे पर्खाल शिलान्यास

गण्डकी प्रदेशका कानुनमन्त्रीले गरे पर्खाल शिलान्यास

२३ फागुन, पोखरा । मन्त्रीहरु शिलान्यास, उद्घाटनका कति भोका छन् त्यसको उदाहरण गण्डकीमा हेरे पुग्छ । सुन्दा अचम्म लाग्न सक्छ । तर, गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले सोमबार पोखरामा पर्खाल शिलान्यास गरेका छन् ।

मन्त्री थापाले पोखरा महानगरपालिका–१८, जामुनबोटमा बन्न लागेको पोखरा सूचना, प्रविधि (आईटी) पार्कको पर्खालको शिलान्यास गरेका हुन् । उक्त पर्खाल आगामी जेठ १५ गतेसम्म सक्ने गरी शेपा÷आशिष एन्ड अनिष जेभीले बनाउन लागेको हो ।यो पर्खाल निर्माणको लागत ९४ लाख रुपैयाँ रहेको मन्त्रालयका सूचना अधिकारी खुबीराम पौडेलले जानकारी दिए । ‘अहिले पार्कको बाउन्ड्री पर्खालको मात्रै शिलान्यास भएको हो,’ उनले भने ।

पर्खालको शिलान्यास भए पनि ९६ रोपनी क्षेत्रफलमा बन्ने आईटी पार्कको भने अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छैन । सूचना अधिकारी पौडेलले डीपीआरको तयारी भइरहेको बताए । पार्कको पर्खाल बनाउन प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

पर्खाल शिलान्यास गरेपछि मन्त्री थापाले आईटी पार्क गण्डकी प्रदेशको गौरवको आयोजना भन्दै त्यसलाई सफल बनाउन पहिलो चरणको काम अघि बढेको दाबी गरे ।‘प्रोजेक्टलाई सफल बनाउन पहिलो चरणमा कम्पाउन्ड वालले घेरेर जग्गालाई सुरक्षित गराउँछौं,’ उनले भने । दोस्रो चरणका लागि पार्कको डीपीआर प्रक्रिया अघि बढिसकेको उनको भनाइ थियो ।

पार्कका लागि तत्कालिन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ मा ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । असोज २०७६ मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संघीय सरकारसँग पार्कका लागि जग्गा माग गरेको थियो ।पुस २०७७ मा संघीय सरकारले प्रदेश सरकारलाई भोगाधिकारसहित ९६ रोपनी १३ आना २ दाम जग्गा दिने निर्णय गरेको थियो ।

मन्त्री थापाले पर्खाल शिलान्यास भएसँगै पार्कको कामसमेत चाँडै सुरु हुने बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत राखेर रकम विनियोजन गरिने योजना सुनाए ‘डीपीआरको प्रक्रिया पनि अगाडि बढिसकेको छ । डीपीआरअनुसार संरचना बढाउन आगामी बजेटबाट रकम विनियोजन गरेर अगाडि बढ्ने छौं,’ उनले भने, ‘अबको बजेटमा बहुवर्षीय बनाउने र नयाँ बजेटमा राखिने छ ।’

गण्डकी प्रदेशलाई डिजिटाइजेन गर्ने र प्रदेशलाई अन्तर्राष्ट्रियस्तरसँग जोड्ने गरी आईटी पार्कको परिकल्पना गरिएको मन्त्रालयका सचिव धर्मराज कुइँकेल बताउँछन् ।‘पार्क भन्नेवित्तिकै हल्लिने टहलिने भन्न्ने सोचाइ छ । सूचना प्रविधि पार्क त्यसो हुँदैन । सूचना प्रविधिका ठूलाठूला कार्यक्रम गर्न, गण्डकी विश्वविद्यालयको आईटी गढ यहाँ हुन्छ भन्ने हिसाबले बनाउन लागिएको हो,’ उनले भने ।

 

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *