स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एल्चेमाथि पुनरागमन जित निकालेको छ। म्यानुअल मार्टिनेज वलेरो स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एल्चेमाथि बार्सिलोनाले १-२ गोल अन्तरले पुनरागमन जित निकालेको हो।
खेलको ४४ औं मिनेटमा फिडेल चाभेसको गोलमा एल्चेले अग्रता बनाउँदा पहिलो हाफमा एक गोलले अघि रह्यो। तर, ६० औं मिनेटमा फेरान टोरेसले जोर्डी अल्बाको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। बार्सिलोनाका लागि दोस्रो गोल मेम्फिस डीपेले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ८४ औं मिनेटमा गरेका थिए। र, मिड टेबलमा रहेको एल्चेमाथि बार्सिलोनाले १-२ गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।
जितसँगै बार्सिलोना २६ खेलबाट ४८ अंक जोडेर तालिकाको शीर्ष तीनमा उक्लिएको छ। शीर्ष स्थानमा ६३ अंक जोडेको रियल मड्रिड, दोस्रो स्थानमा ५५ अंक जोडेको सेभिया छन् भने समान ४८ अंक जोडेको एट्लेटिको मड्रिड चौथो स्थानमा छ।