कुम्भ मेलाका तीर्थयात्री बने ‘सुपर स्प्रेडर’

२८ वैशाख, काठमाडौं । हरिद्वारमा लाखौं तीर्थयात्रीहरुले कुम्भमेलामा नुहाउँदै गर्दा भारतमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिरहेको छ । यस्तोमा धेरै मानिसले कुम्भ मेला भारतमा कोरोना संक्रमण फैलिने महत्वपूर्ण स्थल बन्न सक्छ भन्ने आशंका पनि व्यक्त गरेका थिए । कुम्भ मेलामा गएर फर्किएका मानिसहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेसँगै उक्त आशंका सही साबित हुन थालेको थियो । कुम्भ मेलामा गएका मानिसले भारतका विभिन्न भागमा कोरोना संक्रमण फैलाएको हुन सक्ने सम्भावना पनि देखिएको छ ।

१५ मार्चमा कुम्भ मेलामा भाग लिन महन्त शंकर दास हरिद्वार आइपुगेका थिए । जतिबेला भारतको धेरै स्थानमा कोरोनाको संक्रमण बढिरहेको थियो । यो पर्व आधिकारिक रूपमा सुरु भएको केवल चार दिनपछि ४ अप्रिलमा ८० वर्षीय हिन्दु पुजारी महन्त दासलाई कोरोना संक्रमण पुष्टि भयो । उनलाई टेन्टमा क्वारेन्टिनमा बस्न सुझाव दिइएको थियो । यद्यपि उनी आइसोलेसनमा बस्नुको सट्टा आफ्नो झोला बाँधेर रेल चढी एक हजार किलोमिटर टाढा रहेको बनारस सहर पुगे ।

महन्तका छोरा नगेन्द्र पाठक आफ्ना बाबुलाई लिन रेल स्टेसनसम्म आए र ट्याक्सीमा चढेर उनीहरु थप २० किलोमिटर टाढा रहेको मिजापुरस्थित आफ्नो गाउँ गए । बीबीसीका संवाददातासँगको कुराकानीमा महन्तले आफ्नो स्वस्थ रहेको बताएका छन् । साथै घर फर्किएपछि आफू क्वारेन्टिनमा बसेको दाबी गरेका छन् । उनले आफूले कसैलाई पनि कोरोना संक्रमण नसारेको बताए पनि केही दिनमा नै उनका छोरा र गाउँका अन्य केही मानिसमा कोरोनाको लक्षण देखिएको थियो । पाठक अहिले कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् । उनका अनुसार पछिल्लो दुई सातामा गाउँमा ज्वरो र खोकीको समस्या देखिएका १३ जनाको मृत्यु भइसकेको छ ।

गाउँमा कोरोना संक्रमण फैलिनुमा महन्तको हात नहुन पनि सक्छ । तर, उनको कोरोना संक्रमित भएपछि गरेको व्यवहार भने गैरजिम्मेवारपूर्ण रहेको स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । संक्रमित भएर भिडभाडयुक्त रेलमा यात्रा गर्ने र ट्याक्सीमार्फत् यात्रा गर्नाले महन्तले अन्य मानिसमा पनि कोरोना संक्रमण पारेका हुन सक्ने उनीहरुको भनाइ छ।

ओडिसामा कुम्भ मेलाबाट फर्किने कम्तीमा २४ जनामा संक्रमण पुष्टि भएको छ भने गुजरातमा एउटै रेलबाट फर्किएका ३१३ मध्ये ३४ जनामा कोरोना संक्रमण देखिएको थियो । मध्य प्रदेशमा कुम्भ मेलाबाट फर्किएका ६१ मध्ये ६० जनामा कोरानो संक्रमण पुष्टि भएको थियो ।

महामारीविद् डाक्टर ललित कान्त भन्छन्, ‘मास्क नलगाएका तीर्थालुहरुको ठूलो समुह नदीको किनारामा बसेर गंगाको महिमा गाइरहेका थिए ।’ यो कार्यले कोरोना संक्रमण फैलिनको लागि उपयुक्त वातावरण सिर्जना भएको उनको भनाइ छ । ‘हामीलाई यसअघि नै चर्च र मन्दिरमा गएर प्रार्थना गर्ने कार्य कोरोना संक्रमण फैलाउनको लागि सहायक सिद्ध हुन्छ भन्ने थाहा थियो’, उनले थपे ।

अधिकारीहरुका अनुसार हरिद्वारमा २ हजार ६४२ तीर्थालुमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा दर्जनभन्दा धेरै धार्मिक नेताहरु छन् । कुम्भ मेलामा सहभागी भएर घर फर्किएर कोरोना संक्रमित हुनेमा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव र नेपालका पूर्व राजारानी ज्ञानेन्द्र शाह र कोमल शाह पनि हुन् । कुम्भमेलामा सहभागी भएपछि कोरोना संक्रमित बनेका बलिउडका कम्पोजर श्रवण राठोडको संक्रमणकै कारण मुम्बई अस्पतालमा निधन भयो । कुम्भ मेलामा सहभागी भएको एक हिन्दु समूहका नौ जनाको पनि मृत्यु भएको थियो ।

कुम्भमेलाबाट फर्किएका मानिसले कोरोना संक्रमण फैलाउन सक्छन् भन्ने आशंकाको कारण भारतका केही राज्यले कुम्भ मेलाबाट फर्किने मानिसहरुलाई १४ दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने नियम ल्याएका थिए । साथै उनीहरूले सूचना लुकाउने मानिसविरुद्ध कडा कदम चालिने चेतावनी दिएका थिए ।

केही राज्यले पीसीआर रिपोर्ट अनिवार्य पनि गरेका थिए । तर, केही राज्यमा भ्रमण गरेका मानिसहरुको तथ्यांक थियो, तर उनीहरुको परीक्षण गर्ने र ट्रेसिङ गर्ने प्रणाली भने थिएन । पछिल्लो दुई सातामा कुम्भ मेलाबाट फर्किएका भारतभरका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राजस्थानका स्वास्थ्य अधिकारीहरुले राज्यमा कोरोना संक्रमण फैलिनुमा कुम्भमेलामा गएका तीर्थयात्रीहरु दोषी रहेको बताएका छन् । विशेषगरी ग्रामीण क्षेत्रमा संक्रमण फैलाउन उनीहरुले भूमिका निर्वाह गरेको उनीहरूको भनाइ छ ।

ओडिसामा कुम्भ मेलाबाट फर्किने कम्तीमा २४ जनामा संक्रमण पुष्टि भएको छ भने गुजरातमा एउटै रेलबाट फर्किएका ३१३ मध्ये ३४ जनामा कोरोना संक्रमण देखिएको थियो । मध्य प्रदेशमा कुम्भ मेलाबाट फर्किएका ६१ मध्ये ६० जनामा कोरानो संक्रमण पुष्टि भएको थियो । अधिकारीहरु उक्त मेलाबाट फर्किएका थप २२ जनालाई खोजीरहेका छन् ।

डाक्टर कान्तका अनुसार उक्त मेलामा गएर आएका तीर्थ यात्रीहरुले भिडभाडयुक्त रेल र बसमा यात्रा गर्दा कोरोना संक्रमण सार्ने सम्भावना गुणात्मक हिसाबले बढी हुन्छ । उनी भन्छन्, ‘म नहिच्किचाई के भन्न सक्छु भने कुम्भ मेला भारतमा कोरोना संक्रमण बढ्नु पछाडिको एक महत्वपूर्ण कारण हो ।’

महन्त दासलाई भारतमा कोरोनाको संक्रमण बढिरहेको समयमा कुम्भ मेला स्थगित गर्नु राम्रो हुन्थ्यो कि भन्ने जिज्ञासा राख्दा उनी आक्रोशित बने । ‘सरकारले पश्चिम बंगालमा निर्वाचन र्‍याली र निर्वाचन गर्नुचाहिँ कसरी राम्रो भयो ? हामीलाई तीर्थयात्रीहरुलाई मात्र किन भेला हुनु गलत भनेर भनिन्छ ?’, उनले प्रश्न गरे ।

आलोचकहरु प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक भेलामा रोक लगाउने कुरामा असहमत हुनुको कारण हिन्दू धर्मका नेताहरुबाट आएको दबाब भएको बताउँछन् । पूजारीहरु, धार्मिक अनुयायीहरु र सन्तहरु मोदीको पार्टीका सबैभनदा ठूलो समर्थकहरु हुन् र उनीहरुले निर्वाचनमा हिन्दुहरुको मत पार्टीलाई दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेका छन् ।

अप्रिल १२ मा एकैदिन कुम्भमेलाको क्रममा गंगामा ३० लाखभन्दा धेरैले स्नान गरेका थिए । गंगामा स्नान गर्दा मानिसको सबै पाप पखालिने विश्वास रहीआएको छ । सोही दिन भारतमा एक लाख ६८ हजारभन्दा धेरै नयाँ संक्रमित पनि फेला परेका थिए । यससँगै भारत संक्रमित संख्याको आधारमा ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा आइपुगेको थियो।

यो मेलामा त्यसको एक सातापछि यो मेलामा सहभागी एक सन्यासीको कोरोनाको कारण मृत्यु भएपछि मात्र कडाइ गरिएको थियो । त्यसपछि मात्र मोदीले तीर्थालुहरुलाई यो मेलालाई प्रतीकात्मक मेलाको रुपमा मनाउन आग्रह गरेका थिए । तर, त्यतिबेलासम्ममा ढिला भइसकेको थियो ।

गत साता मेला आयोजकले ९१ लाख तीर्थयात्रीहरुले हरिद्वारको भ्रमण गरेको बताएको थियो । जबकि यसअघि नै उत्तराखण्डको उच्च अदालतले महामारीको बीचमा कुम्भ मेलालाई अनुमति दिएर सरकार हाँसोको पात्र बनेको बताएको थियो । यसअघि नै कुम्भ मेला आयोजना गर्ने विषय महामारीको कारण विवादमा भने परेको थियो ।

मार्चको सुरुआतमा स्वास्थ्य विशेषज्ञहरुले सरकारलाई नयाँ थप संक्रामक धेरियन्ट मुलुकमा फैलिरहेको भन्दै सरकारलाई चेतावनी दिएका थिए । यस्तोमा मास्क नलगाईकन लाखौं मानिसको भेला हुने कार्यक्रम आयोजना गर्नु बुद्धिमत्तापूर्ण निर्णय नहुने उनीहरुको भनाइ थियो ।

उत्तराखण्डका पूर्व मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले बीबीसीसँगको कुराकानीमा आफूले कुम्भ मेलालाई सीमित र प्रतीकात्मक कार्यक्रम बनाउने योजना आफ्नो रहेको बताए । आफूलाई विशेषज्ञहरुले यो महामारी अब छिटै सकिने सम्भावना नरहेको विशेषज्ञहरुको सुझाव आएकाले आफूलाई त्यसलाई व्यवस्थापनको प्रयास गरेको त्रिवेन्द्रको भनाइ छ ।

‘यो पर्वमा भारतबाट मात्र नभई अन्य मुलुकबाट पनि मानिसहरु आउँछन् । म स्वस्थ मानिस हरिद्वार आएर कोरोना संक्रमण बोकेर सबैतिर जान सक्छन् भन्नेमा चिन्तित थिएँ’, उनले भने ।

यद्यपि कुम्भमेला सुरु हुनुभन्दा केही दिनअघि उनको पद खुस्कियो र मुख्यमन्त्री तीर्थसिंह रावत बने । उनले माता गंगाको आशीर्वादको कारण मेलामा कुनै कोरोना नहुने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘कोही पनि रोकिने छैनन् ।’ मेलामा सहभागी हुन कोरोना परीक्षण नेगेटिभ आएको रिपोर्ट नचाहिने भयो । सुरक्षाको मापदण्ड पालना गरिने उत्तराखण्डको सरकारले बताइरहेको थियो । तर, मेला सुरु भएपछि स्वास्थ्य मापदण्ड पालना गराउन प्रशासन असफल रह्यो ।

हरिद्वारका प्रमुख चिकित्सा अधिकारी डा. शम्भु कुमार झा भिडको व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण रहेको बताउँछन् । मानिसहरुसँग कोरोना नेगेटिभ आएको रिपोर्ट नहुनु र उनीहरू ठूलो आस्था बोकेर आएको हुनाले उनीहरुलाई मेलामा आउनबाट रोक्न पनि नसकिने उनको भनाइ छ । केन्द्र र राज्य सरकारले विशिष्ट मापदण्ड बनाएको र आफूहरुले त्यसैलाई कार्यान्वयन गराउने प्रयास गरेको उनले बताए ।

‘त्यति ठूलो भिडमा जनस्वास्थ्यको नियम पालना गराउनु असम्भव नै थियो । कागजीरुपमा ती मापदण्डहरु निकै राम्रा थिए तर कार्यान्वयन भने गराउन असम्भव थियो’, उत्तराखण्डस्थित थिंकट्यांकका संस्थापक अनुप नौटियालले भने । उनका अनुसार मार्चको १४ देखि २० सम्ममा प्रतिसाता ५५७ नयाँ संक्रमित फेला परिरहेका थिए । जतिबेला तीर्थयात्रीहरु आउने क्रम भर्खर सुरु भएको थियो । तर, यो मेला सकिने अन्तिम साता अप्रिल २५ देखि मे १ सम्ममा उत्तराखण्डमा ३८ हजार ५८१ नयाँ संक्रमित थपिएका थिए ।

‘मेलाकै कारण सबै संक्रमित थपिएका हुन् भन्नु गलत हुन्छ तर कोरोना संक्रमण बढ्नुको संयोग यो पर्वसँग जोडिएको छ’, उनले भने । उनका अनुसार भारतमा कोरोना संक्रमण निकै नै बढिसकेको छ र अब पुरानै अवस्थामा फर्किन सक्ने अवस्था छैन । अहिले कुम्भ मेलामा आएका मानिसहरुले गाउँगाउँमा कोरोना संक्रमण पुर्‍याइसकेकाले अब संक्रमितमा सामान्य मात्र लक्षण देखिने र उनीहरुले संक्रमण थप नफैलाउन् भनेर प्रार्थना मात्र गर्न सकिने नौटियालको भनाइ छ ।स्रोत अँनलाईन खबर

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *