भ्याक्सिन उत्पादकको अक्षमता र भारतको स्वार्थी नीति

भ्याक्सिन उत्पादकको अक्षमता र भारतको स्वार्थी नीति

२८ वैशाख, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मध्येको एक भ्याक्सिन निर्माता भारतीय कम्पनी सेरम इन्स्टिच्यूट अफ इण्डियाका प्रमुख आदर पुनावाल्लाले विश्वका गरीब जनतालाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने विश्वव्यापी प्रयासमा आफ्नो कम्पनीले अग्रणी भूमिका खेल्ने महत्वाकांक्षी प्रतिबद्धता व्यक्त गरेका थिए ।

फलतः उनको कम्पनीले कोरोना भाइरसग्रस्त मुलुकहरुका लागि खोप उत्पादन तथा निर्यात गर्नका लागि करोडौं डलरको सम्झौता गर्यो । त्यस अनुसार उसको सुरुवाती क्रियाशीलता प्रशंसनीय थियो ।

तर जब भारतलाई कोरोना भाइरसको दोश्रो लहरले तहसनहस पारेसँगै खोपको माग तीव्र भयो तब अन्य मुलुक तथा दाता समूहहरुले पनि खोपको लागि तछाडमछाड गर्न थाले सो कम्पनी आफ्नो पूर्वप्रतिबद्धता पूरा गर्न नसक्ने अवस्थामा पुगेको छ ।

कम्पनीले प्रतिबद्धता अनुसारको परिमाणमा भ्याक्सिन उत्पादन तथा आपूर्ति गर्न नसकेको र महामारीको चरमोत्कर्षमा पुगिरहँदा मूल्य समेत बढाएको भन्दै भारतमा राजनीतिज्ञ तथा आम सर्वसाधारणले समेत सेरम इन्स्टिच्यूट र यसका प्रमुख पुनावाल्लाको चर्को आलोचना गरिरहेका छन् ।

भारतमै कोरोनाविरुद्धको खोपको आवश्यकता अत्यधिक बढिरहेको बेला सेरम कम्पनी भने समस्या खेपिरहेको छ र उत्पादन वृद्धि गर्न सकेको छैन । भारतमा कोरोना भाइरसको संकट चुलिरहेका बेला भ्याक्सिन उत्पादक कम्पनीका प्रमुख पुनावाल्ला लण्डन उडेपछि उनको झनै चर्को आलोचना भयो । यद्यपि उनले आफ्नो लण्डन भ्रमण छोटो व्यावसायिक भ्रमण भएको बताएका छन् ।

बेलायती पत्रिकासँगको अन्तरवार्तामा उनले आफूमाथि भारतका नेताहरु तथा कतिपय भारतीय सबैभन्दा शक्तिशाली व्यक्तिहरुबाट आफूहरुलाई भ्याक्सिन उपलब्ध गराउने भनेर धम्की आउने गरेको जिकिर गरेका छन् । त्यसैले होला भारत सरकारले उनीमाथि सुरक्षा चुनौति महसुस गर्दै उनी भारतमा फर्किएलगत्तै उनको सुरक्षामा सशस्त्र सुरक्षा फौज खटाउनेछ ।

यद्यपि द न्युयोर्क टाइम्ससँगको अन्तरवार्तामा पुन्नावालाले आफ्नो कम्पनी र यसको लक्ष्यको बचाउ गर्दै प्रतिबद्धता बमोजिमका भ्याक्सिन उत्पादन तथा आपूर्ति गर्नुको विकल्प नरहेको बताएका छन् । भ्याक्सिन उत्पादन यथेष्ट रुपमा हुन नसक्नुमा कच्चा पदार्थको अभाव कारण रहेको भन्दै उनले यसका लागि आंशिक रुपमा अमेरिका दोषी रहेको जिकिर गरे । भ्याक्सिन उत्पादन निकै जटिल प्रक्रिया रहेको र यसका लागि लगानी तथा जोखिम पनि उत्तिकै हुने उनको भनाइ छ ।

अहिले सेरम र मोदी दुबैलाई झट्का लागेको छ र उनीहरुको महत्वाकांक्षामाथि प्रश्न उठेको छ ।

पूरै भारतका लागि पुग्ने खोप आपूर्ति गर्न आफ्नो कम्पनीले मात्र नसक्ने पनि उनले बताएका छन् । यसका लागि आफूले जस्तै अरु उत्पादकहरुले पनि जोखिम मोल्नुपर्ने उनको मत छ ।

गत जनवरी महिनामा भारतले मुलुक भित्र कोभिड १९ विरुद्धको खोप अभियान सुरु गर्दा तथा खोप निर्यात समेत सुरु गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीले भ्याक्सिनद्वारा मानव जातिको रक्षा गर्ने प्रतिबद्धता जनाएका थिए । तत्कालीन समयमा महामारीको उच्च चपेटामा रहेका ल्याटिन अमेरिकी मुलुकहरुलाई भारतले कोरोना भ्याक्सिन सित्तैमा उपलब्ध गराएर ठूलो गुन लगाएको थियो ।

मोदीको त्यो उपकारी र दानी कार्यप्रति विश्व स्वास्थ्य संगठनका प्रमुख देखि क्यारेबियन क्रिकेट स्टार क्रिस गेल र एन्टिगुआका प्रधानमन्त्री सम्मले मुक्तकण्ठले प्रशंसा गरेका थिए । ब्राजिलका राष्ट्रपतिले त हनुमानले भारतबाट ब्राजिलमा ‘सञ्जिवनी बुटी’ ल्याएको भनेर ट्वीट नै गरे ।

तर कोरोना महामारीको दोश्रो लहरले ग्रस्त भएर खोपको हाहाकार भैरहँदा घटनाक्रमले के प्रष्ट बनायो भने विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता मुलुक भारतले विश्वको मानव जातिलाई त परै जाओस् आफैंलाई पनि बचाउन सक्दो रहेनछ ।

यद्यपि भारतको दीर्घकालीन कोभिड खोप योजनालाई अमेरिकी राष्ट्रपति जो बाइडेनको पछिल्लो घोषणाले केही राहत भने मिलेको छ । कोभिड–१९ विरुद्धका खोपमा बौद्धिक सम्पत्ति अधिकार नलगाउने अमेरिकी घोषणासँगै अब भारतीय अन्य उत्पादकहरुलाई समेत खोप उत्पादन गर्न सहज हुनेछ । तथापि यसले यसले भारतको तत्कालको संकट भने टार्ने छैन, जहाँ कोरोनाको दोश्रो भयानक लहरले मृत्युदर बढिरहेको छ ।

खोप उत्पादनमा विश्वका शक्ति राष्ट्रहरुसँग आफूलाई उभ्याउन सक्ने खालको कम्पनी भएको हुँदा र मोदी सरकारको आत्मनिर्भर अभियानसँग मेल खाने हुँदा भ्याक्सिन उत्पादनका लागि सेरम इन्स्टिच्यूट मोदी सरकारको रोजाइमा परेको थियो । तर अहिले सेरम र मोदी दुबैलाई झट्का लागेको छ र उनीहरुको महत्वाकांक्षामाथि प्रश्न उठेको छ ।

गत वर्षमात्र सेरम इन्स्टिच्यूटले भारतमा एक अर्ब डोज अक्सफोर्ड एस्ट्राजेनेका अर्थात् कोभिशिल्ड खोप भारतमा उत्पादन गर्नका लागि बेलायती–स्विडिस कम्पनी एस्ट्राजेनेकासँग सम्झौता गरेको थियो ।

साथै उसले विश्वका गरीब मुलुकहरुलाई निःशुल्क खोप उपलब्ध गराउने कोभ्याक्स कार्यक्रमका लागि थप २ करोड डोज कोभिशिल्ड उत्पादन र आपूर्ति गर्नका लागि बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनबाट थप ३० करोड डलर अनुदान पायो ।

गत जनवरी र मार्च महिनाको बीचमा सेरमले विश्वमा विभिन्न मुलुकहरुसँग निकट भविष्यमा १ अर्ब १० करोड डोज खोप बिक्री गर्नका लागि खरीद सम्झौता गरेको थियो । तर मार्च महिनासम्म आइपुग्दा भारतले आम रुपमा भ्याक्सिनको निर्यात बन्द गर्दा उसले केवल ६ करोड डोजमात्रै निर्यात गर्न सकेको थियो । जसमध्ये आधा चाहिँ कोभ्याक्स कार्यक्रम अन्तरगतको हो । यसबीचमा भारतले सेरमबाट १२ करोड डोज प्राप्त गर्यो ।

यसैबीच सम्झौता बमोजिमका खोप निर्यातमा ढिलाइ गरेको भन्दै एस्ट्राजेनिकाले सेरमलाई कानूनी सूचना नै जारी गर्यो । तर सेरमले भने भारत सरकारले निर्यात बन्द गरेकाले खोप निर्यातको प्रतिबद्धता अस्थायी रुपमा केही पर धकेलिएको र यसमा आफूले गल्ती नगरेको बताएको छ ।

यसको असर चाहिँ विश्वव्यापी बनेको छ । भारतले भ्याक्सिनको घरेलु मागलाई प्राथमिकतामा राखेर निर्यात रोक्दा यसले भ्याक्सिनको अत्यन्तै आवश्यकता परेका विश्वका अन्य मुलुकहरुमा असर परेको र ९० भन्दा धेरै गरीब मुलुकहरुलाई निःशुल्क खोप प्रदान गर्ने कोभ्याक्स कार्यक्रमको अनुगमन गर्ने संस्था गाभीका प्रवक्ताले बताएका छन् । सेरमले तत्काल प्रतिबद्धता अनुसारका भ्याक्सिन उपलब्ध गराउने सम्भावना नदेखिएपछि गाभीले बिहीबार अमेरिकी कम्पनी नोभाभ्याक्ससँग खोप खरीद सम्झौतामा हस्ताक्षर गरेको छ ।

भारतको छिमेकी मुलुक नेपालले सेरमबाट २० लाख डोज कोभिशिल्ड खरीद गर्नका लागि ८० प्रतिशत अर्थात् झण्डै ६४ लाख डलर अग्रिम भुक्तान गर्न आफ्नो खरीद कानून नै परिवर्तन गर्यो । सेरमले सम्झौता अनुसारको पहिलो १० लाख डोज खोप नेपाललाई उपलब्ध गरायो । तर दोश्रो खेपमा उपलब्ध गराउनुपर्ने थप १० लाख डोज खोपको साटो पैसा नै फिर्ता गर्ने जनाएको छ ।

भारतबाट सुरु भएको कोरोनाको दोस्रो लहरको विध्वंशले नेपाललाई समेत चपेटामा पारिरहेको बेला नेपालले चाहिँ पैसा फिर्ता लिन अस्वीकार गरेको छ र खरिद गरिसकेको बाँकी पाउनुपर्ने खोप नै दिन आग्रह गरेको छ । वास्तवमा खरिद सम्झौता गरी रकम भुक्तानी गरिसकेका पक्षलाई भ्याक्सिन आपूर्ति गर्नु सेरमको व्यावसायिक तथा नैतिक दायित्व पनि हो ।

भ्याक्सिनको ठूलो माग रहेको भारतमा अहिले केवल दुईवटा खोपमात्र उत्पादन भइरहेको छ । एउटा कोभिशिल्ड हो भने अर्को भारतमै विकास गरिएको र भारत बायोटेक कम्पनीले उत्पादन गरेको कोभ्याक्सिन खोप हो । रुसी स्पुतनिक भी खोप उत्पादन गर्ने प्रस्ताव भारतीय कर्मचारीतन्त्रको लालफित्ताशाहीमा अल्झिएको छ । स्पुतनिक ५ खोप आयात गर्ने योजना पनि जुन महिनासम्म पूरा नहुने देखिएको छ । साथै सेरमकै दोस्रो खोप कोभाभ्याक्स चाहिँ आगामी सेप्टेम्बरभन्दा अगाडि तयार नहुने बताइएको छ । यदि अन्य उत्पादकहरुले समेत कोरोना खोप उत्पादन सुरु गरेका भए सेरमले अहिलेको जस्तो दबाब खेप्नुपर्ने अवस्था नआउने पुनावाल्लाको भनाइ छ ।

वास्तवमा प्रतिबद्धता अनुसारका खोप उपलब्ध गराउन नसक्ने सेरमको असक्षमताको दोष बेलायती कम्पनी एस्ट्राजेनिका स्वयंको थाप्लोमा पनि आउँछ । किनकि आफैँ उत्पादन गर्न नसक्ने मुलुकहरुलाई खोप उपलब्ध गराउने भनेर कम्पनीले अक्सफोर्ड विश्वविद्यालयसँग प्रतिबद्धता गरेको थियो ।

सेरम इन्स्टिच्यूटले अबदेखि आफ्नो उत्पादित खोपको आधा हिस्सा भारतभित्र बिक्री गर्ने र आधा हिस्सा बाहिर निर्यात गर्ने योजना बनाएको छ । अहिले भारतमा प्रयोग भइरहेको कोरोना खोपमध्ये ९० प्रतिशत कोभिशिल्ड नै रहेको छ र यति हुँदा पनि अपुग भइरहेको छ । अहिलेसम्म केवल ३ प्रतिशतभन्दा कम भारतीयले मात्र पूर्ण खोप प्राप्त गरेका छन् । अहिलेसम्म भारतमा साढे १५ करोडले मात्र कोभिड खोप लगाएका छन् ।

सेरमले यो वर्षको सुरुवात देखि नै प्रतिमहिना १० करोड डोज खोप उत्पादन गर्ने र त्यसमध्ये ४० प्रतिशत विदेशमा बिक्रि गर्ने योजना बनाएको थियो । तर कम्पनीमा आगलागी भएसँगै खोप उत्पादन वृद्धि हुन सकेन र हाल उसले प्रतिमहिना ७ करोड २० लाख डोज खोप उत्पादन गरिरहेको छ । भारतीय सरकारले उपलब्ध गराएको २० करोड अनुदानले लक्ष्य अनुसारको खोप उत्पादनमा सघाउ पुर्‍याउने सेरमको विश्वास छ ।

सेरममाथि भारतमा खोपको मूल्यमा समेत तलमाथि गरेको आरोप छ । केन्द्र सरकारलाई भन्दा प्रान्तहरु तथा निजी अस्पताललाई महंगो मूल्यमा खोप बेचेको भन्दै सेरमको आलोचना भइरहेको छ । मोदी सरकारलाई प्रतिडोज ३ डलरमा कोभिशिल्ड बेचेको सेरमले राज्य सरकारहरुसँग प्रतिडोज ५ डलर असुल्यो । तर व्यापक आलोचनापछि कम्पनीले राज्य सरकारहरुको मूल्य ४ डलरमा झारेको छ । केन्द्र सरकारले ठूलो परिमाणमा खरिद गर्ने भएको हुँदा कम मूल्यमा बेच्न सकिएको दाबी कम्पनीको छ । विश्वमा २० डलरसम्ममा पनि बिक्री गर्न सकिने चिज आफूले भारतमा ५, ६ डलरमा उपलब्ध गराउँदा पनि आलोचना हुने गरेको भन्दै सेरम प्रमुख पूनावाल्लाले असन्तुष्टि व्यक्त गरेका छन् ।

बम्बे उच्च अदालतमा बुधबार पुनावाल्लालाई अतिरिक्त सुरक्षाको माग गर्दै निवेदन दर्ता भएको छ । एकजना वकिलले दर्ता गरेको निवेदनमा पुनावाल्लामाथि मुख्यमन्त्री तथा उद्योगपतिहरुबाट समेत धम्की आउने गरेको दाबी गरिएको छ । बेलायती पत्रिकाले चाहिँ त्यस्तै अनेकन धम्कीका कारण पुनावाल्ला लण्डन भागेको जिकिर गरेका छन् । तथापि त्यसलाई उनी स्वयंले खण्डन गर्दै आफू बेलायतमा अध्ययनरत आफ्ना सन्तानहरुलाई भेट्न लण्डन आएको बताएका छन् ।

चर्को मूल्य असूली गरेको तर पर्याप्त खोप उपलब्ध गराउन नसकेको भनेर आलोचना खेपिरहेको सेरम इन्स्टिच्यूटले बेलायतमा भने आफ्नो कम्पनी विस्तार गर्ने योजना बनाएको छ । बेलायतमा उत्पादन कारखाना निर्माण, बिक्री कार्यालय स्थापना, क्लिनिकल ट्रायलमा लगानी लगायतका अनुसन्धान र विकासका कार्यमा साढे ३३ करोड डलर लगानी गर्ने कम्पनीले जनाएको छ ।स्रोत अँनलाईन खबर

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *