अक्सिजनगाछी संरक्षण अभियान थालौं

अक्सिजनगाछी संरक्षण अभियान थालौं

कोशी राजमार्गस्थित विराटनगर महानगरपालिकाको बरगाछी चौकमा रहेको लायन्स क्लबले बनाएको सिमेन्टको गाछी सवारी दुर्घटनामा परेर भत्कियो । गत हप्ता साँझ ९ बजे मालबाहक सवारीले दिएको ठक्करले लायन्स गाछी नामको उक्त रंगीचंगी सिमेन्ट गाछी ध्वस्त भएको रहेछ । वरगाछी जस्तो ऐतिहासिक चौकमा जबरजस्ती शान र मानका लागि बनाइएको कृत्रिम सिमेन्टी गाछी भत्किएपछि धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जालमा व्यक्त भएका सबैका विचारहरुको प्रायः एउटै आसय छ, प्राकृतिक पहिचानको बिकल्प कृत्रिमता हुन सक्दैन र अब बरगाछीको इतिहास जोगाउन पुनः उक्त स्थानमा बर रोपेर संरक्षण गर्नुपर्छ ।
देख्दा र जान्दा बुझ्दा बरगाछी एउटा चौक मात्र थिएन, विराटनगरको पहिचान थियो । पहिले विराटनगर भनेकै बरगाछी हो भनेर हामीले सुन्ने बुझ्ने गरेका थिया । सानै छँदा बेला–बेला उपचारका लागि बाआमासँग विराटनगर अस्पताल आउने गर्दथे । त्यो बेला मैले बरगाछी चौकमा रहेको बडेमानको सुन्दर लहार फैलाएको ऐतिहासिक बरगाछीलाई देखेको थिएँ । पछि म विराटनगरमा आएर कर्म थालेपछि उक्त रुख सडक बिस्तार गर्न काटियो । केही वर्षपछि त्यहाँ सिमेन्टको गाछी निर्माण गरियो । र क्रमशः त्यो सिमेन्टी गाछीलाई फरक आकृति बनाएर लायन्स स्तम्भका रुपमा रुपान्तरण गरियो ।

मैले सानै छँदा बरगाछी नामको साहित्यिक पत्रिका पढ्ने गरेको थिएँ । उक्त पत्रिका पूर्वको मात्र नभएर देशकै प्रतिष्ठित साहित्यक पत्रिकामा गनिन्थ्यो । लब्धप्रतिष्ठित साहित्यकारहरुले उक्त पत्रिका चाख दिएर पढ्ने मात्र हैन, संकलन पनि गर्ने गर्दथे । विराटनगरका प्रख्यात साहित्कार, बुद्धिजीबीहरुका रचना र लेखहरु बरगाछी पत्रिमामा पढ्न पाइन्थे । प्रसिद्ध साहित्यकार स्वर्गीय देवकुमारी थापालाई मैले बरगाछी पत्रिका पढेरै चिनेको थिएँ । हुन त त्यो बेला बरगाछी चौक कुख्यातीका लागि पनि चर्चित थियो । तर, बौद्धिकता र शालिनताको इतिहासले बरगाछी चौकलाई सधै सचेत नागरिकहरुको इतिहासका रुपमा परिचित गराउन सफल भयो । केलाउदै जाँदा बरगाछी प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने क्षेत्रमा पनि जोडिन्छ ।

बरगाछी विराटनगरको चौक मात्र नभएर एउटा इतिहास हो । साहित्य, कला , सँस्कृति र समृद्धिको पहिचान हो । यसैले विकासका नाममा बरगाछीको इतिहासलाई मास्नु कदापी दुरदर्शीता होइन । बरगाछी जोगाउनु भनेको विराटनगर कला सँस्कृतिमा मात्र नभएर प्राृकृतिक संरक्षणमा पनि सचेत छ भन्ने देश विदेशलाई बताउनु हो । संरक्षण गरेर हरियाली सिटीमा परिणत गरेर आफैं विराटनगर उदाहरण बनेर देखाउनु हो ।

समाचार अनुसार यतिखेर कोरोनाको दोस्रो चरणको महामारी भयवाह अवस्थामा छ । यो समयमा भारत मात्र नभएर नेपालमा पनि अक्सिजनको हाहाकार भैरहेको छ । उद्योगीहरुले उत्पादन गरेको कृत्रिम अक्सिजनको चरम अभाव भएको छ । र, मानिसहरु ज्यान जोगाउनका लागि तुलसीको मोठ र बरपिपलका गाछीहरुका मुनि गएर छहारीको सहारामा स्वासप्रश्वास लिन थालेका छन् ।
विज्ञान बुझेका मात्र नभएर धार्मिकतामा विश्वास गर्नेहरु सबैलाई थाहा छ, प्रकृतिले हामीलाई अक्सिजन दिन्छ र हामीले फालेको बिकारयुक्त कार्वोनडाईअक्साईड ग्याँस आफूले लिएर पचाउँछ । प्रकृतिले नै प्रकृतिकलाई स्वच्छ बनाउन सघाउँछ । जसले गर्दा जैविक प्रकृतिको साइकलचक्रलाई निरन्तर अगाडि बढाउन सहयोग पुगिरहेको छ । बायुमण्डललाई स्वच्छ बनाउन मद्दत पुगिरहेको छ ।

तर, विडम्बना प्राकृतिक संरक्षक र भूमिपुजक हामी नेपालीहरुले पनि विकासमा सन्तुलन आवश्यक हुन्छ भन्ने विर्सदै गएका छौं । हामीले पनि भौतिक संरचना मात्र विकास हो र त्यही नै सम्पन्नताको प्रतिक हो भनेर ठानिरहेका छौं । यसैले त हामीले बन जंगल मासेर धमाधम ठूला साना सिमेन्टी शहरहरु निर्माण गरिरहेका छौं । गाउँघर र शहर बजारमा भएका रुख विरुवा अनि प्राकृतिक सम्पदा मासेर बाटो र चौक बिस्तार गर्ने ध्याउन्नमा लागेका छौं । हामी कतिसम्म बाठा छौं भने एकातिर भएका प्राकृतिक सम्पदाहरु सबै मासेर बृक्षारोपण गर्ने र शहर बजारमा कृत्रिम गमलामा बिरुवा रोप्ने देखावटी काम गरेर लाखौं करोडौ रुपैयाँ धन पनि स्वाहा पार्ने । तर, राज्यको धन स्वाहा पारेर पनि हामीले चेतेका छैनौं । आफैले रोपेको विरुवा र फुल संरक्षण गर्न भने हामीले कति पनि चासो दिने गरेका छैनौं ।

बिन्ति छ ! कम्तिमा अब कोरोनाको कहरबाट सिकौं । गाउँघरमा मात्र नभएर शहर बजारमा पनि प्राकृतिक सम्पदाहरुको संरक्षण गरांै । प्राकृतिक र जैविक विविधताको ईतिहासलाई जीवन्त बनाउन सबै सचेत बनौं । प्राकृतिक सम्पदा मासेर हामी कदापी दिर्घायु हुन नसक्ने रहेछौं । यसैले वरपिपलका गाछीहरुलाई सकेसम्म संरक्षण गरौं । भारतको सिक्किम र विश्वका अन्य देशहरुबाट सिकौं । अबदेखि बरगाछीहरुको ऐतिहासिकतालाई जोगाउन सबै एक भएर लागिपरौं ताकी विराटनगरको बरगाछीबाट सुरु भएको यो संरक्षणको अभियान देशका लागि एउटा उदाहरणीय अभियान बन्न सकोस् ।

अन्त्यमा कोरोना संक्रमण काल सधैका लागि चाँडै अन्त्य होस् । हामी नेपाली प्राकृतिक अक्सिजनले गर्दा धेरै ठूलो मानवीय क्षतिबाट जोगिन सफल भएका हौं भन्ने सन्देश दिन सफल बन्नसकौं । अस्पताल र होम आइसोलेसनमा उपचार गरिहनुभएका सबै संक्रमितहरुको शीघ्र स्वाथ्यलाभको कामना । भविश्यमा कसैले पनि कृत्रिम अक्सिजनको अभाब झेल्न नपरोस् ।स्रोत हाम्रोमत

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *