१२७ प्रतिशतले कोरोना संक्रमित बढे, द्रुतगतिमा फैलिँदै संक्रमण

१२७ प्रतिशतले कोरोना संक्रमित बढे, द्रुतगतिमा फैलिँदै संक्रमण

अघिल्लो हप्ताको तुलनामा यो हप्ता नेपालमा झण्डै १२७ प्रतिशतले कोरोना संक्रमित वृद्धि भएका छन् । काठमाडौं विश्वविद्यालयको जनस्वास्थ्य विभागकी सह–प्राध्यापक डा अर्चना श्रेष्ठले अरु देशको तुलनामा अझै पनि नेपालमा संक्रमण फैलिरहेको पाइएको बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा बताइन् ।

अघिल्लो साताको तुलनामा यो साता संक्रमितको संख्या बढेको तथ्यांक प्रस्तुत गरेकी उनले लुम्बिनीमा सर्वाधिक ३८४ प्रतिशत संक्रमित बढेको बताइन् । यस्तै सुदूरपश्चिममा १९८, कर्णालीमा १०५ , गण्डकीमा १०९,  बागमतीमा १२२, प्रदेश २ मा १३० र प्रदेश १ मा १४७ प्रतिशत संक्रमित बढेको उनको भनाइ छ ।  यो तथ्यांकले देशभित्रै प्रदेशगत रुपमा हेर्दा पनि संक्रमण द्रुत गतिमा फैलिरहेको पुष्टि हुने उनको भनाइ छ ।
उनले भनिन्, ‘अघिल्लो हप्ताको तुलनामा यो हप्ता हेर्ने हो भने सबै प्रदेशमा १०० प्रतिशत भन्दा बढी संक्रमित को संख्यामा वृद्धि भएको देखिन्छ ।’

त्येक दिन संक्रमितको संख्या प्रति १ लाख जनसंख्यामा  १० प्रतिशत भन्दा बढी भएको खण्डमा  महामारी फैलिएको भन्ने बुझिने भन्दै उनले नेपालका धेरैजसो जिल्लामा व्यापक रुपमा संक्रमण फैलिसकेको बताइन् । ‘देशमा अधिक र व्यापक रुपमा नै संक्रमण फैलिएको भनेर बुझ्न  सकिन्छ’, उनले भनिन् , ‘महामारीको ग्राफ हेर्ने हो भने अघिल्लो चरणको वेभ जुन देखिएको थियो त्यो भन्दा माथि नै हामी पुगिसकेका छौं ।’

उनले एक तिहाइमा संक्रमण पुष्टि भएपछि लुकेका दुई तिहाइ संक्रमितको संख्या आउन बाँकी हुने बताउँदै भनिन्, ‘गत वर्ष अधिक लगभग ५ हजारको संख्यामा संक्रमित देखिएका थिए, आज नै ८ हजारमाथि संक्रमितको संख्या देखिइसकेको छ । यसले के बुझिन्छ भने अघिल्लो वर्षभन्दा एकदमै द्रुतगतिमा संक्रमण फैलिरहेको छ ।’

संक्रमण फैलिनुको विभिन्न कारण हुन सक्ने भन्दै उनले त्यसमध्ये एउटा कारण नयाँ भेरियन्ट भएको बताइन् ।
नेपालमा परीक्षण पोजिभिजी दर ३३ प्रतिशत भन्दा बढी पुगिसकेको भन्दै उनले यो एकदमै धेरै भएको बताइन् । भारतमा टेस्ट पोजेटिभी दर १५ प्रतिशत भएपछि पूरै प्रान्तलाई लकडाउन गर्ने भन्ने भएको स्मरण गर्दै उनले सबै प्रदेशमा टेस्ट पोजेटिभी दर धेरै देखिएको बताइन् । ‘जति पोजेटिभिटी दर देखियो उति संक्रमण फैलिएको छ भन्ने देखाउँछ’, उनले भनिन्, ‘अझ धेरै समूदायमा संक्रमित छन् भन्ने बुझ्नुपर्छ । ’

नेपालमा दैनिक मृतकको संख्या बढ्दै गइसकेको भन्दै उनले परीक्षण दर थप बढाइनुपर्नेमा सुझाव दिइन् । उनले संक्रमणको लक्षण देखिएका र आशंका देखिएका सबैलाई परीक्षण गराउन  पनि अपील गरिन् । यसले समूदायमा नै संक्रमणबाट जोगाउन मद्यत गर्ने पनि उनको भनाइ छ । स्रोत रातोपाटी

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *