कुखुरा विक्री नहुँदा नेपालगञ्जका किसान चिन्तित, दाना नपाएर मर्न थाले कुखुरा

कुखुरा विक्री नहुँदा नेपालगञ्जका किसान चिन्तित, दाना नपाएर मर्न थाले कुखुरा

नेपालगन्ज । लकडाउनका कारण किसानहरु मर्कामा परेका छन् । दैनिक दाना, पानी, औषधि खुवाउनुपर्ने अवस्थामा दानासमेत नपाएर कुखुरा मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

कुखुरा मर्न थाल्नु र विक्री नहुनु नै ठूलो समस्या भएको किसानहरु बताउछन् । डेढ महिना अघिदेखि दाना, पानी र औषधि खुवाएर हुर्काइएका ब्रोइलर कुखुरा फार्मभरी छन् । तर, बिक्री गर्ने कुनै सुरसार छैन ।

हुर्केका कुखुरा विक्री नहुँदा नेपालगन्ज–१७ परसपुरका कुखुरा पालक किसान मुबारक अली अचेल निकै चिन्तित छन् । नयाँ भेरियन्टसहित कोरोना भाइरस तीव्र रुपमा बढेपछि बाँके प्रशासनले बैशाख ९ गतेदेखि नेपालगन्ज क्षेत्रमा र वैशाख १३ गते रातिदेखि जिल्लाभर निषेधाज्ञा लागू गरेको छ ।

निषेधाज्ञा लागू भएसँगै तयार भएका कुखुरा विक्री गर्न नपाउँदा युवा किसान मुबारकको लाखौंको लगानी जोखिममा परेको छ । ‘अहिले बजार खुल्दैन । पसल पनि खुल्दैनन् । कुखुरा कसैले पनि लैजान्न,’ पीडा पोख्दै उनले भने, गर्मीले गर्दा दिनहुँ कुखुरा मरिरहेका छन् । धेरै टेनसन भइरहेको छ ।’

पछिल्लो समयमा दैनिक रुपमा १२ देखि १५ हजार रुपैयाँ बराबरको कुखुरा मर्ने गरेको उनको गुनासो छ । उनले खोरमा कुखुरा राखेको ५० दिन पुगिसकेको छ । नेपालगन्जमा लकडाउन सुरु हुँदा कुखुरा ३७ दिनका मात्रै थिए ।

लकडाउन हुने हल्ला सुनेपनि कुखुरा सानो भएका कारण त्यतिबेला बिक्री नगरेको मुबारक बताउँछन् । ‘लकडाउन हुनुभन्दा पहिले बेच्नलाई कुखुरा तयार भएका थिएनन् । अहिले तयार हुँदा बिक्री नै हुँदैन’, उनले गुनासो गरे ।

लकडाउन हुनुभन्दा अघिसम्म उनले जिउँदो कुखुरा थोकमा प्रतिकिलो २ सय ५० मा बिक्री गर्थे । लकडाउनमा त्यो भन्दा कम मूल्यमा दिँदासमेत बिक्री नभएको उनको गुनासो छ । सुरुमा उनले खोरमा ९ सय ५० वटा चल्ला हालेका थिए ।

अहिले आधा जति मरेर ५ सय कुखुरा बचेका छन् । उक्त कुखुरामा उनको करिब ४ लाख लगानी लागिसकेको छ । ‘एक लाख १० हजारको चल्ला किनेको हुँ । २० हजारको त औषधि नै खर्च भएको छ’, उनले निराश हुदै भने, ‘३ हजार ८ सयको दरले ७० बोरा त दाना नै खुवाएको छु ।’

कुखुरा बिक्री नहुने र गर्मीले दिनहुँ मरिरहँदा यसपटक लगानी नउठ्ने र एक÷डेढ लाख उल्टो घाटा लाग्ने उनको अनुमान छ । करिव ८ वर्ष वैदेशिक रोजगारी गरेर फर्केको उनले गत वर्षबाट कृषिमा हात हालेका हुन् ।

‘आफ्नै जमिनमा करिव ६ लाखको लगानीमा खोर तयार गरेको छु’ ‘उनले भने । गत वर्ष चैतमा पहिलो पटक कुखुरा पाल्न सुरु गरेका उनलाई कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि पहिलो गाँसमै ढुंगा लाग्यो ।

तरपनि उनले हिम्मत हारेनन् । लकडाउन खुलेपछि उनी कुखुरा पालनबाट नै फाइदामा गए । ‘पहिलो चोटी पोहोर साल कुखुरा पाल्दा दुई लाख जति घाटा भएको थियो । त्यसपछि फाइदा हुँदै गयोे, अहिले फेरि लकडाउनले घाटा गरायो । कुखुरा पालेरै आफूसहित श्रीमती र तीन जना छोरीको सम्पूर्ण खर्च चलाएको छु’, उनले भने ।

सरकारले लकडाउन गरेपनि किसानको उत्पादनलाई बिक्री गर्ने वातावरण मिलाउनुपर्ने उनको माग छ । लकडाउनका कारण यतिबेला मुबारक जस्ता जिल्लाका थुप्रै किसान मारमा परेका छन् ।स्रोत न्युज२४

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *