काठमाडौं,माघ २१ । युथ थिन्कर्स सोसाइटी सन् २०१४ मा स्थापित “युवा सशक्तीकरण गर्दै, समुदायहरु स्थायीकरण गर्ने ” भन्ने नाराका साथ देशभरका युवाहरुलाई विभिन्न मोडल संयुक्त राष्ट्र संघ (MUN), वर्कशपहरु र विभिन्न परियोजनाहरुमा संलग्न गराएर समाजमा नयाँ विचार र परिवर्तन ल्याउन सक्रिय रुपमा कार्यरत छ।
युथ थिंकर्स सोसाइटी (वाई. टी. एस)ले संयुक्त राष्ट्र महिला नेपाल संगको सहकार्यमा सर्वसाधारणको मनो-सामाजिक कल्याणका लागि “कोभिड-१९ द्वारा सिर्जित तनावका लागि परामर्श पोडकास्ट” को अडियो श्रृंखला जारी गरिरहेको छ। सीमान्तकृत समुदाय, विशेष गरी महिला, बहिष्कृत समूह र युवाहरूमा लक्षित गरेर उहाँहरुको मानसिक समस्याहरु सम्बोधन गर्दै उहाँहरुमा पहुँच बढाउन पोडकास्ट श्रृंखला प्रसारण भइरहेको छ। विभिन्न मानसिक तथा मनोसामाजिक विषय र समस्याहरुलाई सम्बोधन गरिएका २० एपिसोड डिजिटल प्लेटफार्महरू र एफ. एम. रेडियो स्टेशनहरू मार्फत सुन्न सक्नु हुन्छ।
अक्सर बेवास्ता गरिने मानसिक सुस्वास्थ्य शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। कोभिड -१९ ले हाम्रो समुदायमा मनोवैज्ञानिक कल्याणको बारेमा हामीले बुझ्न नसकेका अंतर्निहित समस्याहरूलाई हाम्रा सामु ल्याइदिएको छ। “कोभिड-१९ द्वारा सिर्जित तनावका लागि परामर्श पोडकास्ट” श्रृंखलाले मानसिक र मनोसामाजिक विषयसंग सरोकार भएका समस्या र प्रश्नहरुको जवाफ दिई परामर्श मार्फत सामान्य जनतालाई मनोचिकित्सीय समर्थन प्रदान गर्दछ। यस पहलमा हामी, वर्तमान महामारीका कारण मानिसहरूले सामना गरिरहेका मानसिक र मनोसामाजिक चुनौतीहरूको वास्तविक जीवन अन्तर्दृष्टि समेटेर मनोविज्ञहरूका सल्लाहका साथ यी मुद्दाहरूमा छलफल गर्दै प्रत्येक पोडकास्ट एपिसोड पूरा गर्दछौं। यस कार्यक्रममा मनोविज्ञहरुले लक्षित समूहबाट संकलन गरिएको प्रश्नावलीमा रहेर उहाँहरुको मानसिक स्वास्थ्यलाई प्रभाव पारेका समस्याहरमा परामर्श प्रदान गर्दछन्। यो पहलले मानिसहरूलाई एक अर्कालाई राम्रोसँग चिन्न र जीवनका कठिन पर्स्थिथिहरुमा आफुलाई अझ लचिलो बनाएर आफ्नो मानसिक र मनोसामाजिक स्वास्थ्यको हेरचाह गर्न प्रोत्साहन गर्दछ।
यी शृङ्खलाबद्ध एपिसोडहरू डिजिटल माध्यमहरू जस्तै स्पोटिफाई, गुगल पोडकास्ट, एप्पल पोडकास्ट, साउन्ड क्लाउड, कास्टबक्स, र वाई.टी. एस र वाई. टी. एस केयर्सको फेसबुक पेज मार्फत प्रसारित हुनेछन्। यसका साथै हाम्रो कार्यक्रमलाई प्रदेश २ र सुदुरपश्चिम प्रदेशका स्थानीय भाषाहरु भोजपुरी, मैथिली, डोटेली, र थारू भाषामा त्यहाँका एफ. एम. हरुले साप्ताहिक रुपमा प्रसारण गर्न सहयोग गरिरहेका छन् ।
प्रदेश नं २को लागि :
रेडियो मिथिलांचल
प्रसारण समय : शनिबार साँझ ६ बजेको समाचार पछि र मंगलबार बिहान ७:३० बजे
रेडियो बीरगंज
प्रसारण समय : शनिबार साँझ ६:३० बजे र बुधबार साँझ ६:३० बजे
हामी छिट्टै रेडियो मलंगवामा पनि आउदै छौ |
हाम्रोबारे;
युथ थिंकर्स सोसाइटी (वाई. टी. एस) एक गैर नाफामुखी, गैर सरकारी, र युवा द्वारा नेतृत्व गरिएको २०१४ मा “युवा सशक्तीकरण गर्दै, समुदायहरु स्थायीकारण गर्ने” मुल नाराका साथ स्थापित संस्था हो। शिक्षा, उद्यमशीलता, अनुसन्धान, र युवा वकालत र सामुदायिक विकासको चार क्षेत्रहरूमा काम गर्दै आएको वाई.टी.एस ले युवा, अपाङ्गता भएका व्यक्ति, महिला, सीमान्तकृत समुदाय, र समलिङ्गी समुदायको विकास र समावेशीकरणमा केन्द्रित रहेर कार्यशाला र कार्यक्रमहरूको आयोजन गर्दछ। वाई.टी.एस ले मानसिक स्वास्थ्य कार्यशालाहरू युनिसेफ लगायतका बिभिन्न संस्थाहरूको सहकार्यमा आयोजना गर्दै आएको छ र यस महामारीको समयमा मानिसहरुको मनोसामाजिक तथा मानसिक हितका लागि निरन्तर रुपमा काम गरिरहेको छ |स्रोत रेडियो बिरगंज