मजदुरको पीडा : निषेधाज्ञामा काम भेटिएन

मजदुरको पीडा : निषेधाज्ञामा काम भेटिएन

.

विराटनगर । आइतबार बिहान ९ः१५ बजे, बरगाछी सडक छेवैमा दैनिक ज्याला मजदुर गर्नेहरुको एउटा समूह थियो । सबैले काम गर्दा चाहिने ज्यावलहरु आ–आफ्ना साइकलमा राखेका थिए ।

सडकमा सुरक्षाकर्मीले मानिसको आवगमन नियन्त्रण गर्ने प्रयत्न गरिरहेको थियो । त्यो दृष्य हेर्दै फुटकर मजदुरहरु आपसमा मुखामुख गर्दै कुराकानी गर्थे । कोही बाटोतिर आँखा डुलाउथे । त्यतिबेलै समूहका एकजना साइकल तानेर बाहिरिए ।

साइकलको पछाडि भागमा कोदालो, बेल्चा थियो । लाग्थ्यो एउटा सिपाही कुनै युद्धको तयारीमा हिडेको छ । त्यसो त बिहान कमाएर साँझमा खाउँला भन्दै घरमा छोडेर आएका जहान परिवारको भोक मेटाउने एक कर्मठ सिमाही नै हुन् उनी ।

उनी समूहबाट बाहिरीदै गर्दा गनगनाउदै थिए, ‘रोग पनि कस्तो आयो कस्तो ? भोकले मरिन्छ होला । ’ उनी थिए विराटनगर ४ नयाबजारका प्रमोद साह । प्रमोद सधैँ झैँ काम पाइएला भन्ने आशले बरगाछी चोकमा आएका रहेछन् ।

विराटनगर आज (आईतबार) देखि निषेधाज्ञा छ भन्ने थाहा थिएन ? हाम्रो प्रश्नमा उनले भने, ‘के गर्नु पापी पेट मान्दैन, एकदिन काम गरेन भने चुलो बल्न धौ, धौ पर्छ ।’

आर्थिकरुपमा सक्षम हुनेले निषेधाज्ञाको समाचार सुन्दै गर्दा दैनिक उपभोग हुने सामानहरु जोहो गरे, जसको दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नु पर्ने अवस्था छ उनीहरुका लागि रोगले निम्त्याएका बाध्यात्मक अवस्था कहर बनेको छ । प्रमोदको एकदिनको कमाइले उनका ४ जनाको परिवारलाई भरथेग गर्दोरहेछ ।

सधैँ झैँ उनी काम पाइएला भन्ने आशाले चोकमा आएर बसेको घण्टौ वितिसक्दा कामदार खोजी गर्दै कोही पनि आएनन् । त्यसैले उनले घर फर्किने निधो गरेका रहेछन् ।

‘सधैँ त, यो समयभित्र काम लगाउने मालिकहरु आइसकेका हुन्थे,’ उनी बाटो तर्फ आँखा डुलाउदै भन्छन्, आज कोहि आएनन्, अब काम नै छैन भने चोकमा बसेर के गर्नु घरै फर्किन्छु ।’ उनी यो भन्दा पहिले रिक्सा चालक रहेछन् ।

रिक्सा चलाउदा उनको दैनिक ६ देखि ७ समय कमाइ हुन्थ्यो । परिवार, घर खर्च राम्रै चलिरहेको थियो । पछिल्लो समय इलेक्ट्रोनिक रिक्सा (सिटि सफारी) भित्रिएसँगै मानिसहरु रिक्सा चढ्न छाडे । ‘सिटि सफारी आएपछि सफारी नै रोज्छन्,’ उनी सुनाउँछन्, परिवार पाल्नै पर्यो, रिक्सा छोडेर ज्याला मजदुरी काम गर्न थालें ।’

गत वर्षको लकडाउनले रोग, भोक,अभाव बेहोर्दै केहि समय लकडाउन, निषेधाज्ञा खुलेसँगै राहत महशुस भएको प्रमोदलाई पुःन रोग र भोगको युद्धले गत वर्षका भोगाइ याद आएको छ । सरकारले काम गरिखानेलाई काम गर्ने वातावरण मिलाइदिए थोरै राहत मिल्ने उनको भनाइ छ ।
देवानगञ्जका श्याम शाहको कथा पनि प्रमोदको भन्दा कम छैन । बिहान ७ बजेदेखि काम पाइएला भन्ने आशामा बरगाछी चोकमा बसेका श्यामको पनि आशा निराशामा बदलियो । सधैँको जस्तो हुँदो हो त ९ बजेदेखि १० बजेभित्र उनीहरु काममा लागिसकेका हुन्थे । ‘आज त कोहि आएनन् काम दिन, उनी साइकल तान्दै भन्छन्, सधैँ यो समय हामी काममा लागिसकेका हुन्थ्यौं, आज पर्खनु मात्रै प¥यो ।’

काम नगरी घरैमा बस्दा सात जनाको परिवार भोकै हुने अवस्था रहेको उनी र उनी जस्ता श्रमिक वर्गलाई सरकारले काम गर्ने वातावरण मिलाइदिए सहज थियो । ‘सरकारले ज्याला मजदुरी गर्नेको परिवालई राहत दिनु प¥यो’ उनी भन्छन्, हैन भने, सुरक्षित भएर काम गर्ने वातावरण मिलाउन प¥यो ।’

घडीले ठयाक्कै १० बजाइसकेको थियो । १० बजे पश्चात् विराटनगर आसपासका क्षेत्रमा सुरक्षाकर्मीबाट कडाइ हुन थालेसँगै उनीहरु पनि हतार गर्दै घर फर्किए । निषेधाज्ञाको पहिलो दिन प्रमोदले काम भेटेनन् ।स्रोत हाम्रोमत

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *