विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रमा असफल भएपछि हतास मानसिकता भएकाहरुले हतारमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको बताउनु भएको छ ।विराटनगरमा आज आयोजित प्रदेशस्तरिय बाल अधिकार भेलामा बोल्दै मुख्यमन्त्री राईले आफूले काम गर्न नसकेर नभई आरिस गर्नेहरुले आफूलाई असफल बनाउन अविश्वासको प्रस्ताव दर्ता गराएको दाबी गर्नुभयो ।
‘मुख्यमन्त्री अयोग्य र नालायक भयो काम गर्न सकेन भनेर होइन, राम्रो गरेको देख्न नसक्नेहरुले आफ्नो गल्ति कमजोरी ढाकछोप गर्न हतारमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्,’ मुख्यमन्त्री राईले भन्नुभयो ।ठूलो भाग खान खोज्नेहरुले आफूविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव कानुन सम्मत रुपमा असफल बनाउने दाबी पनि उहाँले गर्नुभयो । उहाँले संघीयतालाई असफल बनाउनेहरुले हतार–हतार प्रदेशमा पनि अविश्वासको प्रस्ताव दर्ता गरेर अस्थिरता उत्पन्न गरेको बताउनु भयो ।
उहाँले आफू नाम राख्नका लागि मात्र मुख्यमन्त्री नभएकोले सँधै शिर ठाडो पारेर अगाडि बढेर संघीयता र सम्वृद्धि प्राप्त गरेरै छाड्ने बताउनु भयो । प्रधानमन्त्री केपी ओली सर्मथक मुख्यमन्त्री राईले देशमा कल्पना नगरेको परिस्थिति आइपरेकोले वर्तमान अवस्था अन्यौलपूर्ण भएपनि केही दिनभित्रै सबै अवस्था सहज हुने बताउनु भयो । उहाँले ६४ प्रतिशत विश्वास लिएर काम गर्दा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई घेराबन्दी गरेर काम गर्न नदिँदा प्रतिनिधिसभा विघटन गर्नुपरेको र त्यो संबैधानिक भएको दाबी पनि गर्नुभयो ।स्रोत हाम्रोमत