काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि पार्टीका नेता कार्यकर्ता प्रधानमन्त्री केपी शर्मा ओली पक्ष वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष कसमा लाग्ने भनेर अन्योलमा छन् ।यस्तो अवस्था प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाका सांसदमा समेत देखिएको छ । ओलीले केन्द्रीय कमिटी विस्तार गर्दा केन्द्रीय सदस्य बनाइएका २ सांसदले ओली पक्षमा जान अस्वीकार गरेका थिए ।
ती सांसदले ओली पक्षलाई अस्वीकार गर्दै प्रचण्ड–नेपाल पक्षमा लागेका थिए । तर ती सांसदहरू प्रचण्ड–नेपाल पक्षलाई समेत छाडेर उपाध्यक्ष बामदेव गौतम संयोजक रहेको एकता अभियानमा लागेका छन् ।झापाबाट निर्वाचित १ नम्बर प्रदेशसभा सांसद गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली उपाध्यक्ष बामदेवको अभियानमा लागेपछि प्रचण्डलाई धक्का लागेको छ ।
बुढाथोकी र मैनालीसहित ७ जना स्थानीय नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी विभाजनको पक्षमा नलाग्न र एकता अभियानमा जोडिन सबैमा अपिल पनि गरेका छन् ।केन्द्रमा दुई लाइन संघर्ष देखिए पनि पार्टी वैधानिक रूपमा नफुटेका कारण केन्द्रलाई दबाब दिने उद्देश्यले एकताका लागि आह्वान गरेको बुढाथोकीले बताएका छन्
। आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै बुढाथोकीले मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे थप कुनै निर्णय नभएको बताएका छन् । १ नम्बर प्रदेशमा प्रचण्ड पक्षले ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गरेको छ । प्रचण्ड पक्षले दर्ता गराएको अविश्वासको प्रस्ताव हस्ताक्षर गरेका बुढाथोकी भने अब प्रचण्ड पक्ष छाडेर बामदेवतिर लागेका छन् ।
अर्काेतिर, मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका २ प्रदेशसभा सदस्य ओली पक्षमा आएका छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उदयपुरकी कला घले र मोरङकी बसन्तीदेवी यादव ओली पक्षमा लागेका जनाइएको छ । घले प्रत्यक्ष निर्वाचित हुन् भने यादव समानुपातिक सांसद रहेकी छन् ।स्रोत मिडियाडबली