ठमाडौं – कासत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि प्रचण्ड–नेपाल पक्षले पार्टी एकीकरण प्रक्रिया पूरा गर्दा साविक एमालेले नेतृत्व गरेको र साविक माओवादी केन्द्रले नेतृत्व गरेको पंक्तिलाई यथावत् राख्ने गरी मापदण्ड तय गरेको छ ।
पुस १९ गते बसेको स्थायी कमिटीको बैठकबाट प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा पार्टी एकताको बाँकी काम पूरा गर्न बनेको कार्यदलले त्यस किसिमले मापदण्ड तयार पारेको हो ।‘हामीले एउटा विधि र मापदण्ड तय गरेका छौं,’ कार्यदलका एक सदस्यले भने, ‘त्यसैअनुसार पदपूर्ति हुने भएका छन् ।’
प्रदेश, जिल्ला कमिटी र जनसंगठनहरुमा नेतृत्व खाली भएपछि प्रचण्ड– नेपाल पक्षले एकता प्रक्रियालाई पूरा गर्ने प्रक्रिया अघि बढाएको हो । ओली पक्षले प्रचण्ड–नेपाल पक्षलाई हटाउने प्रक्रिया अघि बढाइसकेको छ । प्रचण्ड–नेपाल पक्ष छाडेर ओली पक्षमा गएका जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेश कमिटी र जनसंगठनका अध्यक्ष तथा सचिवहरुको पदपूर्ति गरिने भएको छ ।
सबै तहमा नेतृत्व परिवर्तन गर्ने र परिवर्तित नेतृत्वमा ओली पक्षमा गएका पूर्व एमालेहरुको स्थानमा पूर्व एमालेलाई नै दिने गरी मापदण्ड तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए । यसरी ओली पक्षले छाडेको सबै भाग माधव नेपाल पक्षले पाउने भएको छ । यसरी नयाँ पार्टीमा प्रचण्ड अल्पमतमा पर्ने देखिएको छ । प्रचण्ड–नेपाल पक्षले विभिन्न तहमा पदाधिकारी चयन गर्न १२ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, बेदुराम भुसाल र सुरेन्द्र पाण्डे, मातृका यादव सदस्य छन् । कार्यदललाई १ हप्ताभित्र विधि र मापदण्ड तय गर्न समयसीमा दिइएको थियो ।
‘कार्यदलले विधि र मापदण्ड तय गरिसकेको छ अहिलेको अवस्थामा पार्टी एकीकरण गर्दा जे अवस्था अपनाइएको थियो त्यही कायम राख्ने, एकीकरणको बेला साबिकका २ पार्टीका नेताहरुले नेतृत्व लिइरहेको स्थानमा त्यही नै कायम हुनेछ तर केन्द्रीय सदस्य भने तत्काल थप हुने छैन,’ कार्यदलका एक सदस्यले भने ।
ती सदस्यका अनुसार सो प्रस्तावलाई स्थायी कमिटीमा पेश गरिने छ । ‘स्थायी कमिटी बैठकमा सो मापदण्डबारे छलफल हुनेछ, त्यहाँबाट पास भएपछि मात्रै रिक्त रहेका सबै कमिटीमा पदपूर्ति गरिने छ,’ कार्यदलका सदस्यले भने ।कार्यदलले बनाएको मापदण्डअनुसार प्रचण्ड–नेपाल पक्षमा महासचिव पनि पूर्व एमालेले पाउने छ । उपाध्यक्ष वामदेव गौतम सो समूहमा आवद्ध नभए उपाध्यक्ष पनि पूर्व एमालेले पाउने निश्चित भएको छ ।
ओली पक्षले भने विधान संशोधन गरेर केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५१ बनाइसकेको छ । जिल्ला कमिटीहरुमा पनि तत्कालै अर्को समानान्तर कमिटी बनाएर पदपूर्ति गरिसकेको छ । तर प्रचण्ड–नेपाल पक्षले भने विधि र मापदण्ड बनाएरै पदपूर्ति गर्ने जनाएको छ । सो समूहले तत्कालै महासचिव र उपाध्यक्षमा कसैलाई पनि चयन नगर्ने जनाएको छ । ‘सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगले विवाद नटुग्याउँदासम्म महासचिव र उपाध्यक्ष चयन हुने छैनन्,’ कार्यदलका एक सदस्यले भने ।
हाल महासचिव विष्णु पौडेल ओली पक्षमा छन् भने उपाध्यक्ष बामदेव गौतम पार्टी एकता अभियान घोषणा गर्ने अन्तिम तयारीमा छन् । हाल प्रचण्ड–नेपाल पक्षमा साविकको नेकपाभित्रका बहुमत केन्द्रीय सदस्य छन् ।प्रचण्ड–नेपाल पक्षले दुवै तर्फबाट खाली रहेका कमिटीहरु र सम्भावित नामबारे पनि छलफल गरिरहेको छ । ७७ वटै जिल्ला कमिटी, सातै प्रदेश, सबै जनसंगठनमा कुन तहमा के–के पद खाली भएका छन्, ती सबैको विवरण संकलन भइरहेको छ ।
प्रचण्ड–नेपाल पक्षले स्थानीय तहबाट पनि सुझाव लिएर यसअघि जिम्मेवारी नपाएर र जिम्मेवारी पाउनुपर्ने व्यक्ति र उसको कार्यक्षमताबारे विवरण संकलन गरिरहेको छ । तर ओली पक्षले १ हजार १९९ जनाको केन्द्रीय कमिटी बनाएर सबैलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा खटाएको छ । प्रचण्ड–नेपाल पक्ष भने विवरण संकलन गरेर मात्रै सबै कमिटीहरूमा पदपूर्ति गर्ने तयारीमा जुटेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।स्रोत मिडियाडबली