काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्काविरुद्ध कारवाही गरिरहेका बेला १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई निलम्बन गरिएको छ ।विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय मुख्यमन्त्री राईलाई ३ महिनाका लागि सांसद पदबाट समेत निलम्बन गर्दै प्रदेशसभा सचिवालयमा जानकारी पठाएको छ ।नेकपा प्रदेश संसदीय दलको नेतामा नवनिर्वाचित भीम आचार्यले मुख्यमन्त्री राईसहित ८ सांसदलाई कारवाही गरेको पत्र संसद सचिवालयमा पुर्याएको छ । यसअघि प्रचण्ड–नेपाल पक्षले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ ।
संसद सचिवालयमा प्राप्त पत्रमा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्कीलाई सांसद पदबाट ३ महिनाका लागि निलम्बन गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
‘मुख्यमन्त्री शेरधन राई सहितका ८ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गर्दै कार्यान्वयनका लागि प्रदेश सभामा सिफारिस भएको छ,’ प्रदेशसभा सचिव पराजुलीले भनेका छन् ।प्रदेश संसदीय दलका नेता आचार्यले प्रेषित गरेको पत्रमा पुस २६ गतेदेखि निलम्बन लागू भएको जनाइएको छ ।
निलम्बन गरिनुको कारणमा संसदीय दलको कुनै पनि बैठकमा सहभागी नभएको, पार्टी हित विपरीत काम गरेको आरोप लगाइएको छ । प्रचण्ड–नेपाल पक्षले पुस २५ गते शनिवार निलम्बन गरिएको पत्र सबैलाई पठाएको छ ।प्रचण्ड–नेपाल पक्षले निलम्बन गरेका सबै सांसदसहित मुख्यमन्त्री शेरधन राई ओली पक्षका नेता हुन् । निलम्बन गरेको जानकारी पत्रमा नवनिर्वाचित संसदीय दलका नेता भीम आचार्यले हस्ताक्षर गरेका छन् । स्रोत मिडियाडबली